काठमाडौं । अमेरिकी सेनासँग हुने उच्चस्तरीय सैन्य वार्तामा सहभागी हुन नेपाली सेनाको सात सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।
उपरथी अनुपजंग थापाको नेतृत्वमा रहेको टोली सोमबार राति कोरियन एयरको उडान नम्बर केइ ६९६ बाट सिओल हुँदै अमेरिकाको होनोलुलु प्रस्थान गरेको हो ।
अमेरिकाको होनोलुलुमा साउन २६ देखि २८ गतेसम्म ‘ल्याण्ड फोर्सेज टक्स’ नामक वार्ता हुँदैछ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने उक्त वार्ता सातौँ संस्करण भएको जनाइएको छ ।
वार्तामा नेपाली सेनाको तर्फबाट उपरथी थापासहित सात सदस्यीय टोली सहभागी हुनेछ । वार्तामा दुई देशका स्थल सेनाबीचको सहकार्य, सैन्य सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने जनाइएको छ ।
उपरथी थापा नेपाली सेनाका हालका युद्धकार्य महानिर्देशक हुन् । उनी नेपाली सेनाको भावी नेतृत्वको प्रमुख दाबेदारसमेत हुन् । आगामी वर्ष भदौदेखि उनी प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने तयारीमा छन् ।
त्यसअघि अमेरिकी सेनासँग हुने महत्वपूर्ण सैन्य संवादमा थापाको नेतृत्वमा नेपाली टोली सहभागी हुनुलाई नेपाली सेना र अमेरिकी सेनाबीचको सैन्य सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।
