काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनमा आगजनी हुँदा त्यसलाई लिएर उत्सव मनाउँदै भिडियो बनाएको भन्दै आलोचित पूर्वफुटबल खेलाडी, कमेन्टेटर तथा विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्त भएकी छिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अक्षतालाई साउन २२ गते प्राज्ञ सभा सदस्य नियुक्त गरेको हो । मन्त्रालयले गरेको नियुक्तिको सूचीमा उनको नाम १८औँ नम्बरमा रहेको छ ।
अक्षताको नियुक्तिपछि सामाजिक सञ्जालमा भने सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी उनका पिता अमनप्रतापले जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगजनी भएपछि त्यसलाई उत्सवका रूपमा प्रस्तुत गर्दै भिडियो बनाएको विषयलाई जोडेर सरकारको नियुक्तिमाथि टिप्पणी भइरहेको छ ।
सुशासनको मुद्दालाई प्राथमिकता दिएको दाबी गर्दै आएको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्णयलाई लिएरसमेत प्रश्न उठाइएको छ ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अक्षताको नियुक्तिलाई ‘नेपो बेबी’सँग जोड्दै लेखेका छन्, ‘संसद् भवन जलाएपछि अमनप्रताप अधिकारीको त्यो उत्सव । बोली सुन्दा अहिलेको सरकारले प्राज्ञमा उनैलाई नियुक्त गर्नुपर्ने । उनकी छोरीलाई नियुक्त गरियो रे । नेपोकिड्स त भन्न मिल्दैन क्यारे ।’
अर्का प्रयोगकर्ताले भने नियुक्तिमाथि थप आक्रोश पोख्दै प्रश्न गरेका छन्, ‘आफ्नै छोरीबुहारी, भाइभतिजा, दिदीबहिनी, दाजुभाइ ल्याउन किन आगो लगाएको ?’
अक्षताको नियुक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘योग्यता र योगदानका आधारमा नियुक्ति भयो कि पारिवारिक सम्बन्ध र पहुँचका आधारमा ?’ भन्ने प्रश्नसमेत उठ्न थालेको छ ।
यद्यपि, अक्षता अधिकारीको नियुक्ति कुनै पारिवारिक प्रभाव वा सम्बन्धका कारण भएको हो भन्ने आरोपलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाण सार्वजनिक भएको छैन । सामाजिक सञ्जालमा उठेका प्रश्न र टिप्पणी भने नियुक्तिपछि बहसको विषय बनेका छन् ।
