काठमाडौं । पक्राउ परेर कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूमाथि निगरानी बढाइएको थियो।
सोही क्रममा प्रहरी टोलीले ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित एक घरबाट २१ वर्षीय प्रज्वल के.सी.लाई पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइन ११० ग्राम ३५० मिलिग्राम, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु थान–१ र कारोबारमा प्रयोग भएको फरक–फरक सिमसहितको मोबाइल थान–५ बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका के.सी.ले लागुऔषध कारोबार गर्दा पक्राउबाट बच्न तथा लागुऔषध खरिद गर्ने ग्राहकको पहिचान गर्न कुपण्डोलस्थित घरमा ४ वटा CCTV क्यामेरा जडान गरेका थिए।
त्यस्तै, लागुऔषध कारोबार गर्ने बेडरुमसम्म पुग्ने बाटोमा समेत ३ वटा फलामको गेट राखिएको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रज्वल के.सी. यसअघि पनि लागुऔषध कारोबारमा पक्राउ परी कारागार चलान भएका थिए। उनी २०७९ साल पुस १२ गते खैरो हेरोइन २ ग्रामसहित प्रहरी परिसर ललितपुरबाट पक्राउ परेका थिए।
त्यसपछि २०७९ माघ २ गतेदेखि २०८० जेठ ३१ गतेसम्म नख्खु कारागारमा रहेका के.सी.लाई नख्खु कारागारबाट भीमफेदी कारागार स्थानान्तरण गरिएको र पछि २०८० मंसिर २१ गते छुटेको प्रहरीको विवरणमा उल्लेख छ।
कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले उनको गतिविधिमाथि निगरानी बढाएको थियो।
प्रहरीका अनुसार कारागारमा रहँदा उनी विराटनगरमा बस्ने एक व्यक्तिसँग सम्पर्कमा आएका थिए। सोही व्यक्तिमार्फत लागुऔषध सप्लाई गर्ने व्यक्तिसँग लागुऔषध खरिद गर्ने गरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले जनाएको छ।
बरामद सामग्री :
खैरो हेरोइन– ११० ग्राम ३५० मिलिग्राम
डिजिटल तराजु– १ थान
मोबाइल फोन– ५ थान
