काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, दबाब वा धम्कीका आधारमा आफू पछि नहट्ने उनले स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए। महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सबै काम गर्न आफू तयार रहेको उनको भनाइ थियो।
थापाले भने, ‘तर एउटा कुरा के स्पष्ट पार्छु भने, म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। यो पार्टीमा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ।’
सभापति थापाले पार्टीभित्र सबै पुस्ता र समूहलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। महाधिवेशनलाई निष्पक्ष बनाउन आफू कुनै पक्षप्रति पूर्वाग्रही नरहेको उनको संकेत थियो।
त्यसैगरी, थापाले पछिल्लो निर्वाचनमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता तथा कार्यकर्ताले पार्टीको चुनाव चिह्न ‘रुख’मा मतदान नगरेको विषय पनि पार्टीको नोटिसमा रहेको बताए।
उनले पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूले नै पार्टीको पक्षमा मतदान नगर्नु गम्भीर विषय भएको संकेत गर्दै यसबारे समीक्षा आवश्यक रहेको बताएका छन्।
