रौतहट । ग्यासको कृत्रिम अभाव, अनियमित वितरण र उपभोक्ताको गुनासो बढिरहेका बेला गृह मन्त्रालयको निर्देशनपछि रौतहट प्रशासनले ग्यास डिलर तथा विक्रेतामाथिको निगरानी कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका १७ वटा ग्यास डिलर तथा विक्रेताका पसलमा एकैपटक आकस्मिक छड्के अनुगमन गरेको हो।
अनुगमनका लागि प्रशासनले दुईवटा छुट्टाछुट्टै टोली परिचालन गरेको थियो। चन्द्रनिगाहपुर क्षेत्रतर्फ प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोली खटिएको थियो भने गौर क्षेत्रतर्फ प्रशासकीय अधिकृतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा अर्को टोली परिचालन गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार गौर, गरुडा र चन्द्रनिगाहपुरलगायत जिल्लाका प्रमुख बजार क्षेत्रमा रहेका सुपर, नेपाल सहारा, सहारा, बाबा, नोबेल, नेपाल सुपर र नेपाल ग्यासलगायतका डिलर तथा विक्रेताका पसलमा छड्के अनुगमन गरिएको हो।
डिलरमा खाली सिलिन्डरको थुप्रो, व्यवसायीको एउटै जवाफ- ‘ग्यास नै कम आयो’
अनुगमनका क्रममा अधिकांश डिलर तथा विक्रेताका स्टोरमा खाली सिलिन्डरको संख्या उल्लेख्य रहेको पाइएको प्रशासनले जनाएको छ। तर व्यवसायीहरूले भने उद्योगबाटै पर्याप्त मात्रामा ग्यास आपूर्ति नभएको र बजारको मागअनुसार ग्यास उपलब्ध हुन नसकेको दाबी गरेका छन्।
व्यवसायीका अनुसार पछिल्लो समय ग्यास समयमा नआउने र बजारको मागको तुलनामा कम परिमाणमा मात्र आपूर्ति हुने समस्या देखिएको छ।
ग्यास आएपछि भने अधिकांश विक्रेताले प्रहरीको रोहबरमा पसल अगाडिबाटै उपभोक्तालाई वितरण गर्ने गरेको प्रशासनले जनाएको छ।
‘ग्यास लुकाएर राखे कारबाही हुन्छ’- प्रशासनको चेतावनी
अनुगमन टोलीले ग्यास आपूर्ति भएपछि उपभोक्तालाई पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न डिलर तथा विक्रेतालाई निर्देशन दिएको छ।
कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाएर राख्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने गतिविधि नगर्न व्यवसायीलाई सचेत गराइएको छ।
प्रशासनले डिलरमा आपूर्ति भएको ग्यासको वास्तविक अवस्था, स्टक तथा वितरण प्रणालीमाथि समेत निगरानी बढाएको जनाएको छ।
अब ‘रुटिन’ होइन, जुनसुकै बेला छड्के
ग्यासको आपूर्ति र वितरणमा अनियमितता हुन नदिन प्रशासनले नियमित अनुगमनसँगै जुनसुकै बेला आकस्मिक छड्के गर्ने योजना बनाएको छ।
उपभोक्ताको गुनासो, बजारमा ग्यासको उपलब्धता, डिलरको स्टक र वितरणको अवस्थालाई आधार बनाएर आवश्यकताअनुसार टोली परिचालन गरिने प्रशासनले जनाएको छ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी भुषालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी लगायत स्थानीय तह तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।
प्रशासनको पछिल्लो कदमले ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न कति प्रभाव पार्छ भन्ने कुरा भने आगामी दिनमा हुने आपूर्ति तथा बजार अनुगमनबाट स्पष्ट हुनेछ।
