काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २६ दरबन्दी रिक्त भएका छन्। रिक्त दरबन्दीको तुलनामा बढुवाका लागि प्रतिस्पर्धी अधिकृतको संख्या धेरै भएपछि प्रहरी प्रधान कार्यालयले तत्कालभन्दा पनि आगामी पुसपछि बढुवा प्रक्रिया अघि बढाउने रणनीति बनाएको छ।
हाल डीएसपीतर्फ मात्रै रिक्त दरबन्दी संख्या २४ बाट बढेर २६ पुगेको छ। यससँगै इन्स्पेक्टरबाट डीएसपीमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका अधिकृतहरूको संख्या पनि उल्लेख्य छ।
गत साउन १४ गते एसएसपी भीमबहादुर दाहाल र एसपी महेन्द्रकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीमा थप एक एसएसपी र दुई एसपीको दरबन्दी रिक्त भएको हो।
दाहालले २०५४ मंसिर १ गते प्रहरी निरीक्षकबाट तथा श्रेष्ठले २०५३ साउन १५ गते प्राविधिक प्रहरी नायब निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।
तर अहिले रिक्त भएका दरबन्दीमा तत्कालै बढुवा गर्नेभन्दा आगामी पुसमा हुने अवकाशलाई समेत पर्खने रणनीति प्रहरी प्रधान कार्यालयले बनाएको बुझिएको छ।
आगामी पुसको पहिलो साता नेपाल प्रहरीका १२ उच्च अधिकृतले एकैपटक अवकाश पाउने भएपछि त्यसपछि मात्रै बढुवा प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।
नियमित अवकाशको १० दिनअघि नै आगामी मंसिर २३ गते ५६ वर्षे उमेरहदका कारण प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले अवकाश पाउनेछन्।
त्यसपछि ३० वर्षे सेवाहदका कारण आगामी पुस ४ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्माले अनिवार्य अवकाश पाउनेछन्।
सोही मितिमा डीआईजीहरू माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना र सुरेन्द्र गुरुङले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन्।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका एसएसपी शारदाप्रसाद चौधरीले पनि ५५ वर्षे उमेरहदका कारण नियमित अवकाशको करिब डेढ वर्षअघि नै आगामी पुस ४ गते अवकाश पाउनेछन्।
यसरी पुसको पहिलो साता १२ उच्च अधिकृतको अवकाशपछि प्रहरीमा डीएसपीसहित माथिल्लो तहका थप दरबन्दी रिक्त हुनेछन्।
त्यसपछि प्रहरी प्रधान कार्यालयले करिब ३८ जना प्रहरी निरीक्षकलाई डीएसपीमा बढुवा सिफारिस गर्ने तयारी गरेको बुझिएको छ।
अहिले रिक्त दरबन्दी कम र बढुवाका आकांक्षी अधिकृत धेरै भएकाले प्रहरी प्रधान कार्यालयले दरबन्दी थपिने समयलाई समेत हिसाब गरेर बढुवा प्रक्रिया अघि बढाउन खोजेको हो।
यसले लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका इन्स्पेक्टरहरूलाई भने पुसपछि ठूलो अवसर खुल्ने देखिएको छ। तर बढुवाको अन्तिम संख्या र प्रक्रिया भने रिक्त हुने दरबन्दी तथा प्रहरी प्रधान कार्यालयको औपचारिक निर्णयपछि मात्रै निश्चित हुनेछ।
