काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहले आफूलाई ‘एक्लो’ महसुस गरेको अभिव्यक्तिप्रति व्यंग्यात्मक प्रश्न गरेका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहको भनाइप्रति आश्चर्य व्यक्त गर्दै राज्यका महत्वपूर्ण संयन्त्र, जनप्रतिनिधि र प्रशासनिक संरचनाको साथ हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्नुको कारणबारे प्रश्न उठाएका हुन्।
उनले लेखेका छन्, ‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँ लाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पीए त कति हो कति, तर पनि एक्लै ?’
भट्टराईले विगतका राजनीतिक नेतृत्वको उदाहरण दिँदै तत्कालीन नेताहरू व्यक्तिगत रूपमा एक्ला देखिए पनि उनीहरूको पक्षमा जनता रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘बीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए, तर जगत् उनीहरूको पक्षमा थियो।’
त्यसपछि उनले वर्तमान राजनीतिक नेतृत्वको अवस्थामाथि थप प्रश्न उठाएका छन्।
‘हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन् किन होला ? बुझिन मैले, बुझाइदेऊ कसैले !’ भट्टराईले लेखेका छन्।
प्रधानमन्त्री शाहले आफूलाई एक्लो महसुस भइरहेको बताएको प्रसंगलाई लिएर भट्टराईको यो टिप्पणी आएको हो। उनको अभिव्यक्तिले प्रधानमन्त्री शाहको राजनीतिक आधार, सरकारको संरचना र नेतृत्वप्रतिको जनसमर्थनबारे नयाँ बहस सिर्जना गर्ने देखिएको छ।
