विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता, पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ गर्दै प्रहरी कर्मचारीका समस्या तथा गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा साउन २२ गते आयोजित परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खनालले सिनियर प्रहरी अधिकृतदेखि आधारभूत तहसम्मका प्रहरी कर्मचारीसँग अन्तरक्रिया गरेका हुन्।
कार्यक्रममा प्रहरी कर्मचारीहरूले आफ्ना समस्या, गुनासा, जिज्ञासा तथा सुझावहरू राखेका थिए। ती विषयलाई गम्भीरतापूर्वक सुनेका खनालले संगठनको नीति, कानुनी व्यवस्था तथा उपलब्ध स्रोत–साधनका आधारमा यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
खनालले ‘नागरिकको विश्वास जित्ने आधार भनेकै इमानदार, निष्पक्ष र प्रभावकारी प्रहरी सेवा हो’ भन्दै प्रत्येक प्रहरी कर्मचारीले उच्च मनोबल, नैतिक आचरण र जिम्मेवारीबोधका साथ कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले संगठनभित्र आपसी समन्वय, सहकार्य र सकारात्मक कार्यसंस्कृतिको विकास गर्न निर्देशन दिँदै प्रहरी कर्मचारीलाई आफ्नो व्यक्तिगत सुरक्षा र स्वास्थ्यमा समेत विशेष ध्यान दिन आग्रह गरे।
महिला प्रहरीका समस्या प्राथमिकतामा
सोही अवसरमा प्रदेश प्रहरी प्रमुख खनालले महिला प्रहरी कर्मचारीहरूसँग छुट्टै अन्तरक्रिया गरेका थिए। महिला प्रहरीका अनुभव, समस्या, गुनासा तथा सुझाव सुन्दै उनले आधुनिक प्रहरी संगठनमा महिला प्रहरीको भूमिका अपरिहार्य, प्रभावकारी र सम्मानित रहेको बताए।
महिला प्रहरी कर्मचारीलाई पेशागत क्षमता विकास तथा नेतृत्वदायी भूमिकामा आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गर्दै खनालले कार्यसम्पादनका क्रममा देखिएका समस्या र गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
प्रहरी प्रमुख र कर्मचारीबीचको प्रत्यक्ष अन्तरक्रियाले संगठनभित्र आत्मीयता र विश्वासको वातावरण निर्माण हुने तथा कर्मचारीका समस्या तत्काल पहिचान गरी समाधान गर्न सहयोग पुग्ने भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
