कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा मोटरसाइकलसहित बगेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ।
प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन चौधरी गएराति करिब साढे ९ बजे घर फर्किने क्रममा खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएको थियो। घटना देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब एक घण्टासम्म निरन्तर प्रयास गरेपछि चौधरीलाई सकुशल उद्धार गर्न सफल भएको हो।
अत्यधिक बाढीका कारण चौधरी सवार मोटरसाइकल भने खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका चौधरीलाई सोही राति सुरक्षित रूपमा घर पठाइएको थियो।
इन्स्पेक्टर मिरा खड्का इलाका प्रहरी कार्यालय चिसापानीको प्रमुखका रूपमा कार्यरत छन्। उनको नेतृत्वमा प्रहरीले जोखिम मोलेर गरेको तत्काल उद्धारका कारण खोलामा बगेका चौधरीको ज्यान जोगिएको हो।
