काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका प्रमुख स्वकीय सचिव प्रतीक श्रेष्ठ र स्वकीय सचिव पारस क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ।
स्रोतकाअनुसार एशियाली विकास बैंक (एडीबी) का कर्मचारी संजय कक्षपतिको स्पोन्सरमा श्रेष्ठ दुबई गएका हुन्। उनीसँगै क्षेत्री पनि गएका हुन्। श्रेष्ठको हवाई यात्रालगायतको खर्चसमेत कक्षपतिले नै व्यहोरेको स्रोतको दाबी छ।
श्रेष्ठ र क्षेत्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईको FZ 1134 उडानमार्फत दुबई गएका हुन्। कक्षपति भने युरोपबाट दुबई पुगेको बताइएको छ।
उनीहरु दुबईको होटल हिल्टनमा बसेका छन्।
कक्षपति नेपाली कांग्रेसकी नेतृ आरजु राणाका नातेदार हुन्। एडीबीमा कार्यरत कक्षपति र मन्त्रीका स्वकीय सचिवबीच दुबईमा हुने भेटघाटलाई लिएर अहिले विभिन्न प्रश्नसमेत उठेका छन्।
स्रोतका अनुसार श्रेष्ठ र क्षेत्रीलाई कक्षपतिले दुबई बोलाउनुको उद्देश्य केवल सामान्य भेटघाट मात्र नभई भौतिक पूर्वाधारसँग सम्बन्धित विषयमा ‘सेटिङ’ मिलाउनु रहेको चर्चा छ।
सरकारी जिम्मेवारीमा रहेका मन्त्रीका दुई स्वकीय सचिवलाई एडीबीका कर्मचारीले दुबई बोलाएर भेटघाट गर्नुले भने भ्रमणको उद्देश्य, खर्चको स्रोत र भेटवार्ताको विषयबारे पारदर्शिताको प्रश्न उठाएको छ।
