काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं महानगरपालिकाको अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्।
राप्रपा काठमाडौं महानगरपालिकाको अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि आज दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र अध्यक्ष पदमा रञ्जितको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। महानगर समितिका सदस्य पदका अन्य उम्मेदवारसमेत सर्वसम्मत चयन भएका छन्।
प्रहरी सेवामा रहँदा रञ्जितले काठमाडौं, ललितपुर र भक्तपुरको प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका उनी महानगरको भूगोल र सुरक्षा अवस्थाबारे जानकार अवकाशप्राप्त प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।
महानगरको निर्वाचन प्रक्रिया सम्पन्न भए पनि निर्वाचित पदाधिकारीको औपचारिक घोषणा भने भोलि साउन २३ गते शनिबार बिहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने भएको छ।
घोषणासभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
