काठमाडौं । विभागीय अनुसन्धानको दायरामा परेका झापा र सुनसरीका प्रमुखसहित सशस्त्र प्रहरी बल (एपीएफ) का ३३ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले संगठनभित्र अनुशासन, कार्यसम्पादन र सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरुवा सूची सार्वजनिक गरेको हो।
मुख्यालयका अनुसार महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम सरुवा गरिएको हो। सरुवा आगामी भदौ १ गतेदेखि लागू हुनेछ।
झापाका एसपीमाथि के आरोप?
झापास्थित नम्बर–२ हेडक्वार्टरका तत्कालीन प्रमुख एसपी अम्बिकाप्रसाद जोशीमाथि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कमजोरी, घुमुवा परिचालनमार्फत अवैध असुली तथा संगठनभित्र अनुशासनसम्बन्धी विषयमा अनुसन्धान सुरु भएपछि उनलाई मुख्यालय तानिएको स्रोतको दाबी छ।
उनीलाई अब नम्बर–५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय, रुपन्देही सरुवा गरिएको छ भने उनको स्थानमा सीमा सुरक्षा विभागमा कार्यरत एसपी सचिन कर्माचार्य लाई झापाको जिम्मेवारी दिइएको छ।
सुनसरीका एसपी किन फेरिए?
सुनसरी नम्बर–४ हेडक्वार्टरका प्रमुख एसपी श्यामकुमार कार्की पनि विभागीय छानबिनका लागि मुख्यालय तानिएका थिए। प्रहरी कर्मचारीका बयान र प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।
त्यसपछि उनलाई सीमा सुरक्षा तालिम शिक्षालय, बर्दाघाट सरुवा गरिएको छ भने सुनसरीको नयाँ प्रमुखका रूपमा एसपी तीर्थबहादुर थापा लाई खटाइएको छ।
सीमा सुरक्षा र सुशासनमा कडाइ
सशस्त्र प्रहरी मुख्यालयले सरुवा नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत भएको जनाएको भए पनि पछिल्लो समय सीमा सुरक्षा, अनुशासन र आन्तरिक सुशासनमा कडाइ गर्ने नीति अनुरूप विभागीय अनुसन्धान र जिम्मेवारी हेरफेरलाई जोड दिएर हेरिएको छ। स्रोतका अनुसार सम्बन्धित अनुसन्धान भने सरुवापछि पनि निरन्तर अघि बढाइनेछ।
