काठमाडौं। ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार रहेका थिए।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसयता उनी अन्तर्राष्ट्रिय स्तरमा खोजीको सूचीमा रहेका थिए।
रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट Air Arabia को उडान नम्बर G9 530 मार्फत नेपाल फर्किने जानकारी प्राप्त भएपछि प्रहरीले आवश्यक समन्वय गरेको थियो।
सोही क्रममा २०८३ साउन २० गते राति १०:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेबित्तिकै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीले पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ।
