अछाम । जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार काज सरुवामा अछाम आएका डीएसपी बमले पदभार ग्रहण गरेसँगै जिल्ला प्रहरी कार्यालयको समग्र अवस्थाबारे जानकारी लिँदै विभिन्न शाखाको निरीक्षण गरेका छन्।
निरीक्षणपछि उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, व्यावसायिक अनुशासन कायम राख्ने र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयले साउन १५ गते डीएसपी बमलाई अछामको जिम्मेवारी दिँदै काज सरुवा गरेको थियो। यसअघि अछामका प्रहरी प्रमुख रहेका डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी कार्यालय धनुषामा सरुवा भएपछि बमले उक्त जिम्मेवारी सम्हालेका हुन्।
नयाँ प्रहरी प्रमुखको आगमनसँगै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र प्रहरी सेवाको प्रभावकारिता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
