काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह अर्थात केडीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई नै चुनौती दिँदै तस्करीलाई संरक्षण गरेको पाइएको छ। इन्स्पेक्टर साहले झण्डै ९ महिनाअघि सिम्रौनगढको इन्चार्ज सम्हालेका थिए।
मधेस प्रदेश बाहिर अर्थात इलाका प्रहरी कार्यालय डकाहा सिन्धुली दरबन्दी भएका प्रहरी हवल्दार सुजित पटेललाई घुमुवा राखेर इन्स्पेक्टर साहले तस्करी धमाधम खुलाएर आईजीपी कार्कीलाई नै चुनौती दिएका हुन्।
जबकी ७ वर्षदेखि सिम्रौनगढमा बसेर हवल्दार घुमुवाले आर्थिक आतंक नै मच्चाएको बताइन्छ। आईजीपी कार्कीको निर्देशन लत्याउँदै इन्स्पेक्टर साहले घुमुवा पटेललाई आफूसँगै राखेर पैसा उठाउन सक्रिय राखेको आरोप पनि छ। जबकी आईजीपी कार्कीले जसको दरबन्दी जहाँ छ, त्यहाँ जान निर्देशन दिएपनि घुमुवा पटेल सिम्रौनगढ बसेर राज गरिरहेका छन्।
मलाई कसैले केही गर्न सक्दैन, १,२ वटा न्यूजमा समाचार आउँदैमा आफूलाई फरक नपर्ने भन्दै इन्सपेक्टर साहले आईजीपी कार्कीसँग राम्रो सम्बन्ध रहेको भन्दै तस्करहरुलाई संरक्षण गर्दा सिम्रौनगढमा भारतीय तस्करहरू सक्रिय भएका छन्।
केही दिनअघि इन्स्पेक्टर साहको क्षेत्रमा तस्करले सामान तस्करी गरेको भिडिओ समेत हामीलाई प्राप्त भएको छ। जुन भिडिओमा साइकलमा सामान ओसारपोसार गर्नेदेखि गोदाममा लगेर सामान राखिएको समेत भेटिएको छ।
त्यतिमात्र होइन, इन्स्पेक्टर साहको संरक्षणमा सिम्रौनगढ नाकाबाट ‘भोला’ र ‘दिपक’ समूहले दैनिक ५–७ वटा मोटरसाइकलमार्फत कपडा तथा चिनियाँ स्याउ तस्करी गराउने गरेको छ। त्यस्तै ‘सन्दीप’ समूहले तयारी कुखुरा र लत्ताकपडा १०–१२ मोटरसाइकलमार्फत ओसारपसार गर्ने छुट पाएका छन्।
यसरी इन्स्पेक्टर साहले खुलमखुल्ला तस्करी गराएर प्रहरी नेतृत्वलाई नै चुनौती दिँदा संगठन कसरी चलेको छ? हेर्न लायक छ ।
देशमा पछिल्लो समय सरकार परिवर्तन भई प्रधानमन्त्री र गृहमन्त्री फेरिए पनि सिम्रौनगढ क्षेत्रमा सुरक्षा व्यवस्थामा कुनै सुधार नभएको स्थानीयको गुनासो छ।
सुरक्षा वृत्तमा साहको नाम पूर्व प्रहरी महानिरीक्षकसँग निकट सम्बन्ध भएका अधिकृतका रूपमा चर्चा हुने गरेको बताइन्छ। उनी विगतमा मधेश क्षेत्रमा विभिन्न जिम्मेवारीमा रहँदा प्रभावशाली सुरक्षा नेतृत्वसँग नजिक रहेको चर्चा हुने गरेको स्रोतहरूको दाबी छ।
यो पनि पढ्नुहोस्…
बाराको सिम्रौनगढमा तस्करी र असुली: इन्स्पेक्टर केडी विवादमा, घुमुवा सुजित हर्ताकर्ता !
