धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच भएको झडपमा एक जना घाइते भएका छन् भने प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला र बौनियाका १७ वर्षीय विवेक विकको समूहबीच साँझ करिब ५ः३० बजे विवाद भएपछि झडप भएको हो।
झडपमा विवेक विक घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। हाल उनको बर्दगोरिया अस्पताल प्रालि, बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ।
घटनापछि प्रहरीले दीपेश मलाल, विजय कार्की, विपिन रावल, भरत सुनार, प्रवेश भण्डारी, विशाल रावल र दीपेन्द्र बमलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुख्य आरोपित कृष्ण सेरेला भने फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
झडपको सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक खड्क भण्डारीको नेतृत्वमा आठ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
