काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले गरिब, सुकुम्बासी र विपन्न नागरिकलाई पीडा दिनेहरू अहिले सामान्य प्रश्नको सामना गर्न नसकी भावुक बनेको आरोप लगाएका हुन् ।
बस्नेतको टिप्पणी पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्तामा रास्वपा सांसद राजुनाथ पाण्डे सेनासँग भएको विवादबारे सोधिएको प्रश्नका क्रममा भावुक बनेको घटनापछि आएको हो ।
बस्नेतले लेखेका छन्, ‘हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्थे। तर आज आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै भकानिएर आँसु झार्दै भावुकताको नाटक गरिरहेका छन्।’
उनले अरूलाई पीडा दिँदा कठोर देखिने तर आफू आलोचित हुँदा भावुक बन्ने प्रवृत्ति दोहोरो चरित्र भएको दाबी गर्दै बालेन्द्र शाह (बालेन) को नाम र लोकप्रियताको आडमा राजनीति गर्ने प्रवृत्तिमाथि पनि कटाक्ष गरेका छन् ।
उनले भने, ‘अरूलाई पीडा दिँदा कठोर, आफू आलोचित हुँदा भावुक हुने, अनि बालेनको आडमा उनको नाम बेच्दै आफूलाई अब्बल शासक ठान्ने यस्तो दोहोरो चरित्र बोकेको व्यक्तिबारे जनताले यथार्थ बुझ्न आवश्यक छ।’
उनले यस्ता व्यक्तिहरूलाई जनताले समयमै चिन्नुपर्ने उल्लेख गर्दै अभिनय, भावुकता वा नाटकका आधारमा होइन, काम, क्षमता र जनताप्रतिको व्यवहारका आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
बस्नेतले अन्त्यमा लेखेका छन्, ‘शासनको असली परीक्षा आँसु बगाउने क्षमताले होइन, जनताको आँसु पुछ्ने क्षमताले हुन्छ।’
