काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।
विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभाव प्रयोग गरी ठेक्का मिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई गत असार २३ गते मोरङबाट पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा गिरीले श्रेष्ठबाट २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सीआईबीले उक्त रकम पीडितलाई भराइदिनुपर्ने मागसहित मुद्दा चलाउन राय दिएको थियो। सोही रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १५ गते काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइपछि काठमाडौं जिल्ला अदालतले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर तोकिएको धरौटी रकम बुझाउन नसकेपछि अदालतको आदेशअनुसार उनी कारागार चलान भएका हुन्।
प्रहरी अनुसन्धानअनुसार निर्माण व्यवसायी श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गराइदिने आश्वासन दिँदै गिरीले ठूलो रकम लिएको आरोप छ।
गिरी यसअघि पनि कानुनी विवादमा तानिएका व्यक्ति हुन्। मोरङ कारागारमा रहेका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा हाजिर जमानीमा छुटेका उनलाई सीआईबीले पुनः पक्राउ गरी काठमाडौं ल्याएको थियो।
त्यसभन्दा अघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई उनी करिब नौ वर्ष कैद सजाय भोगेका थिए। उक्त सजाय पूरा गरी २०७९ चैत ५ गते उनी कारागारबाट रिहा भएका थिए।
