वीरगञ्ज । पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुल्ने गरेको पाइएको छ। सुरक्षा निकायमा आधिकारिक जिम्मेवारी नरहेका व्यक्तिले प्रहरीको नाम र पहुँचको धाक देखाएर रकम माग्ने, नदिए सामान पक्राउ गराइदिने भन्दै धम्क्याउने गरेको आरोप लागेको हो।
पर्साको पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय अशोक वर्णवालले अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोललगायत सीमावर्ती क्षेत्रमा यस्तो गतिविधि गर्ने गरेको बताइन्छ। उक्त क्षेत्र इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रमा पर्छ।
स्रोतका अनुसार वर्णवालले कहिले नेपाल प्रहरी त कहिले सशस्त्र प्रहरीको घुमुवा भएको बताउँदै सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने गरेका छन्। उनले भारतबाट घरायसी प्रयोजनका लागि सामान्य सामान ल्याउने सर्वसाधारणलाई समेत प्रहरीको नाममा धम्क्याएर रकम माग्ने र रकम नदिए सामान पक्राउ गराइदिने चेतावनी दिने गरेका छन्। प्रायः मास्क लगाएर अनुहार छोप्ने गरेको बताइन्छ।
वर्णवालसँगै पोखरिया नगरपालिका–५ कै दीपक यादव नाम गरेका युवा पनि सीमावर्ती क्षेत्रमा हिँड्ने गरेको बताइएको छ। यादवलाई समेत घुमुवा प्रहरीको साथीजस्तै देखाएर सँगै हिँडाउने गरेको आरोप छ। यस विषयमा प्रहरीले यादवलाई कार्यालयमा बोलाएर सोधपुछसमेत गरेको थियो।
प्रहरी अधिकारीको नाम लिएर रकम मागेको आरोप
वर्णवालमाथि सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने व्यापारी तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग रकम असुल्ने प्रयास गरेको आरोपसमेत लागेको छ। रकमका अतिरिक्त मासु र मदिरासहित भोजभतेरको व्यवस्था गर्न दबाब दिने गरेको दाबी स्रोतले गरेको छ।
माथिल्लो तहका प्रहरी अधिकारीहरूसँग आफ्नो चिनजान र पहुँच रहेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको १३ नम्बर गण तथा स्थानीय प्रहरी र सशस्त्र प्रहरी इकाइका प्रमुखहरूको नामसमेत प्रयोग गर्ने गरेका छन्।
रकम नदिने व्यापारीको सामान पक्राउ गराउन सम्बन्धित सुरक्षा निकायमा सूचना दिने र सामान पक्राउ परेपछि आफ्नो प्रभावमा कारबाही गराएको भन्दै थप रकम माग्ने गरेको स्रोत बताउँछ।
आफूले भनेअनुसार प्रहरी प्रशासन चल्ने र माथिल्लो तहसम्म आफ्नो पहुँच रहेको भन्दै उनले व्यापारी तथा स्थानीय बासिन्दालाई प्रभावित पार्ने गरेको आरोप पनि लागेको छ। उनी स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र उच्च अधिकारीहरूसँग निकट सम्बन्ध रहेको बताउने गरेको स्रोतले जनाएको छ।
उच्च अधिकारीसँगको सम्बन्ध देखाएर प्रभाव जमाएको दाबी
स्रोतका अनुसार वर्णवाल विगतमा सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न थिए। पछि सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेको दाबी गरिएको छ।
आफ्नी छोरीको विवाहमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई निमन्त्रणा गरेको प्रसंगसमेत उनले उच्च तहसम्म पहुँच रहेको देखाउन प्रयोग गर्ने गरेको स्रोतको भनाइ छ। यही सम्बन्ध र पहुँचको चर्चा गर्दै सीमाबाट सामान ओसारपसार गर्न सहज बनाइदिने, विभिन्न काम गराइदिने तथा सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिने गरेको आरोपसमेत लागेको छ।
प्रहरीमा सूचना पुगेपछि छानबिन प्रक्रिया अघि बढेको दाबी
केही महिनाअघि इलाका प्रहरी कार्यालय पोखरियाका तत्कालीन प्रहरी निरीक्षक प्रदीप पौडेलसम्म पनि वर्णवालले आफूलाई घुमुवा बताउँदै सीमावर्ती क्षेत्रमा रकम असुल्ने गरेको सूचना पुगेको थियो।
त्यसपछि पौडेलले उनलाई कार्यालयमा उपस्थित हुन फोन गरेको र उनी भारततर्फ गएको स्रोतले जनाएको छ। प्रहरी निरीक्षक पौडेल निलम्बनमा परेपछि मात्र वर्णवाल पुनः फर्किएको बताइएको छ।
त्यसपछि आफूविरुद्ध पक्राउको प्रक्रिया अघि नबढोस् भन्दै विभिन्न नेतामार्फत दबाब तथा सिफारिस गराउन खोजेको आरोपसमेत स्रोतले लगाएको छ।
प्रहरी भन्छ– सूचना आएको छ, पुष्टि भए कानुनी कारबाही हुन्छ
यस विषयमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले पनि आफूहरूकहाँ यससम्बन्धी सूचना आएको पुष्टि गरेका छन्।
अर्यालका अनुसार वर्णवालसँग सीमावर्ती क्षेत्रमा हिँड्ने गरेको भनिएका दीपक यादवलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो।
‘हामीकहाँ पनि यस विषयमा सूचना आएको थियो। सोही आधारमा दीपक यादवलाई ल्याएर सोधपुछ गरी चेतावनी दिएर छाडेका छौँ। उनले अशोकसँग एक दिन सीमावर्ती क्षेत्रमा गएको स्वीकार गरेका छन्। तर अशोकका अन्य गतिविधिबारे आफूलाई जानकारी नभएको बताएका छन्,’ प्रहरी निरीक्षक अर्यालले बताए।
अर्यालका अनुसार प्रहरीले दुवै व्यक्तिबारे सूचना प्राप्त गरेको थियो। सोधपुछका लागि बोलाउँदा एक जनालाई मात्रै फेला पार्न सकिएको र अर्का व्यक्तिको खोजी तथा घटनाबारे थप बुझ्ने काम भइरहेको छ। त्यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको नाम र पहुँचको दुरुपयोग गरी सर्वसाधारण तथा व्यापारीसँग रकम असुल्ने गरिएको हो वा होइन भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ। साथै, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरूको नाम प्रयोग गरी कसैले अनुचित लाभ लिएको भए त्यसको समेत छानबिन हुनुपर्छ।
आरोपको निष्पक्ष अनुसन्धान, सम्बन्धित व्यक्तिको भनाइ र आधिकारिक प्रमाणका आधारमा वास्तविकता सार्वजनिक गर्नु सुरक्षा निकायको जिम्मेवारी हो। आरोप पुष्टि भए दोषीलाई कानुनी दायरामा ल्याउनुका साथै सीमावर्ती क्षेत्रमा सुरक्षा निकायको नाम दुरुपयोग हुन नदिन प्रभावकारी निगरानी आवश्यक देखिन्छ।

