काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका गुरागाईँलाई महानगरपालिकाले बुधबार औपचारिक रूपमा बिदाइ गरेको हो।
गुरागाईँले करिब दुई वर्ष काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनले २०८१ असोज ७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए।
उनको कार्यकालमा महानगरका तत्कालीन प्रमुख बालेन्द्र (बालेन) शाहसँग प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पटक–पटक विवाद भएको थियो। विभिन्न समयमा उनलाई महानगरबाट हटाउने प्रयास भए पनि उनी आफ्नो कार्यकालभर जिम्मेवारीमा कायम रहेका थिए।
बुधबार आयोजित बिदाइ कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख, महाशाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरागाईँले महानगरको प्रशासनिक नेतृत्वमा पुर्याएको योगदान संस्थाले सधैँ स्मरण गर्ने बताइन्। उनले गुरागाईँको सेवा, अनुभव र नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै आगामी जीवन सफल र सुखद रहोस् भन्ने शुभकामना दिइन्।
