काठमाडौं । पत्रकारको आवरणमा खैरो हेरोइन ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार, साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो (Renault) कारलाई शंकाको आधारमा रोकी खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, सिराहा लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र सिराहाकै लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
एसपी रेग्मीका अनुसार पक्राउ परेका कार चालक उमेश कुमार यादवसँग ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्र समेत फेला परेको छ। उनले उक्त परिचयपत्र प्रयोग गरी लागुऔषध ओसारपसार गर्न खोजेको हो वा होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले ४ थान मोबाइल फोन, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा १६ च ७८५९ नम्बरको कार र बरामद खैरो हेरोइन नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार हुलास फाइनान्स, काठमाडौंबाट किस्ताबन्दीमा खरिद गरिएको खुलेको एसपी रेग्मीले बताए।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुली बुझाइएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
