काठमाडौं । दोहोरो तथा किर्ते नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ‘सुजन’ भनेर चिनिने उमेश भोम्जनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार विभिन्न आपराधिक गतिविधिमा फरक–फरक नागरिकता प्रयोग भएको देखिएपछि उमेशलाई पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धानका क्रममा उमेशले २०६९ साल साउनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बकैया गाउँपालिकालाई स्थायी ठेगाना उल्लेख गरी सुजन भोम्जन नामबाट पहिलो नागरिकता लिएको खुलेको छ।
त्यसपछि २०७८ सालमा सोही स्थायी ठेगाना प्रयोग गर्दै आमाबुबाको विवरण फरक राखी उमेश भोम्जन नामबाट अर्को नागरिकता लिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार उनीसँग फरक–फरक नामका दुई नागरिकता रहेको पुष्टि भएपछि पक्राउ गरिएको हो। दुवै नागरिकताका आधारमा उनीविरुद्ध विभिन्न मुद्दा दर्ता भएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उमेश केही समयअघि काठमाडौंको बौद्धस्थित जंगल क्षेत्रमा जुवा खेलिरहेको अवस्थामा नेपाली सेनाले नियन्त्रणमा लिएको समूहमा पनि रहेको प्रहरीले जनाएको छ।
हाल उनीविरुद्ध नागरिकता ऐन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कानुनअनुसार झुटो वा किर्ते नागरिकता प्रयोग गरेको प्रमाणित भए एक वर्षदेखि पाँच वर्षसम्म कैद, २० हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
