पोखरा । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–८ सिर्जना चोकस्थित एक रेस्टुरेन्टको आवरणमा हेरोइन बिक्री–वितरण गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोका अनुसार साउन २० गते गरिएको विशेष अपरेशनका क्रममा भारतको मोतिहारी जिल्ला घर भएका ४० वर्षीय चन्देश्वर महतो (Chandeshwar Mahato) लाई १५८.२७ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका महतोको साथबाट १५८.२७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल फोन र एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त खैरो हेरोइन भारतको गोरखपुरबाट ल्याई कास्की जिल्लाको शहरी क्षेत्रलाई केन्द्र बनाएर बिक्री–वितरण गर्ने गरिएको खुलेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
