दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका संयुक्त प्रहरी टोली सहभागी थिए।
प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको हो।
यस्तै, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बरामद भएका सबै भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ती बन्दुकको स्रोत, प्रयोग तथा कसले वन क्षेत्रमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
