हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित एक होटलमा मदिरा सेवनपछि झगडा गरेको आरोपमा दुई सरकारी कर्मचारी पक्राउ परेका छन्।
मंगलबार साँझ होटलमा मादक पदार्थ सेवनका क्रममा दुई पक्षबीच विवाद र झगडा भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय सानोपोखराको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले झगडामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको जनाएको छ।
घटनास्थलबाट बागमती प्रदेश ०३–००१ ब ३४९ र बागमती प्रदेश ०३–००१ ब २९० नम्बरका सरकारी नम्बर प्लेट भएका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती मोटरसाइकल कुन सरकारी कार्यालयका हुन् र कसले प्रयोग गरिरहेका थिए भन्ने विषय खुल्न बाँकी छ। पक्राउ परेका दुवै कर्मचारीको नाम र उनीहरू कार्यरत कार्यालयको विवरण अनुसन्धान प्रभावित हुन सक्ने भन्दै हाल सार्वजनिक गरिएको छैन।
सरकारी नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्ने कर्मचारीहरू मदिरा सेवनपछि झगडामा संलग्न भएको घटनाले सरकारी सम्पत्तिको प्रयोग र कर्मचारीको आचरणमाथि प्रश्न उठाएको छ।
प्रहरीले घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको जनाएको छ।
