कपिलवस्तु । ‘अदालत र प्रहरीमा मेरो राम्रो पहुँच छ, तपाईंको छोरालाई जेलबाट छुटाइदिन्छु’ भन्दै एक व्यक्तिबाट ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका–५ बालानगरका ३६ वर्षीय जग्गु तेलीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडाका ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी मुद्दामा तौलिहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने आश्वासन दिएका थिए।
प्रहरीका अनुसार तेलीले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट ५ लाख ६२ हजार रुपैयाँ लिएका थिए। रकम बुझाएपछि पनि कुनै काम नभएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जको संयुक्त टोलीले तेलीलाई शिवराज नगरपालिका–९ रुपपुर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
