बिर्तामोड । साइबर अपराध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भएका नितेश ओली एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघले झापा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र झापा शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै फरार अभियुक्तलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको कार्यसम्पादनमाथि नै शंका उत्पन्न भएको बताएका छन्।
महासंघका अनुसार पत्रकार तथा सञ्चार संस्थालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत निरन्तर चरित्रहत्या, भ्रम फैलाउने, गालीगलौज तथा ज्यान मार्ने धम्की दिँदै आएका नितेश ओलीविरुद्ध संस्थागत रूपमा असार १५ गते जिल्ला प्रहरी कार्यालय झापामा साइबर अपराध कसुरअन्तर्गत जाहेरी दर्ता गरिएको थियो। त्यसपछि जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको महासंघले जनाएको छ।
महासंघले अदालतको आदेश जारी भएको एक महिनाभन्दा बढी समय बित्दासमेत अभियुक्त पक्राउ नपर्नु गम्भीर विषय भएको उल्लेख गरेको छ। फरार व्यक्ति सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहँदा पनि पक्राउ प्रक्रिया प्रभावकारी नहुनु आश्चर्यजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले अभियुक्तलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन, सामाजिक सञ्जालमार्फत भइरहेका धम्की र दुष्प्रचार रोक्न तथा पत्रकारमाथिको दण्डहीनताको अन्त्य गर्न सरकार र प्रहरी प्रशासनसँग माग गरेको छ।
यसअघि झापा शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै एक साताभित्र अभियुक्त पक्राउ नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ।

हाल झापा प्रहरी प्रमुख छिन् एसपी बसुन्धारा खड्का। आरोपित ओलीविरुद्ध एक दर्जनभन्दा बढी जाहेरी दर्ता र अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एसपी खड्काले पक्राउ गर्न कुनै चासो दिएकी छैनन् । उनी अनेक बाहना बनाएर पन्छिँदै आएकी छन् ।
पक्राउ पुर्जी जारी भएका ओलीसँग एसपी खड्काको निरन्तर सम्पर्क हुने गरेको स्रोतको दाबी छ । पछिल्लो समय ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यक्रममा गएर सामाजिक सञ्जालमा सरकारका मन्त्री तथा दलका नेताहरुसँगको तस्बीर सार्वजनिक गर्दै आएका थिए ।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व र कार्यसम्पादनबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
स्रोतका अनुसार एसपी खड्काको कार्यशैलीमाथि पछिल्लो समय प्रहरी वृत्तभित्रै पनि प्रश्न उठ्न थालेको छ। उनी प्रधानमन्त्री बालेन्द्र शाहसँग निकट रहेको दाबी गरिन्छ। यही निकटताका कारण उनी शक्तिको आडमा झापामा काम गरिरहेको र आलोचनाका बाबजुद पनि आफ्नो प्रभाव कायम राख्न सफल भएको आरोप लगाइन्छ।
स्रोतले एसपी खड्काले आफ्नो जिम्मेवारीभन्दा व्यक्तिगत सम्बन्ध र शक्ति केन्द्र व्यवस्थापनमा बढी ध्यान दिएको आरोपसमेत लगाइएको छ। उनका श्रीमान् एसएसपी दिलिप घिमिरेलाई काठमाडौंमा महत्वपूर्ण जिम्मेवारी दिलाउन विभिन्न शक्ति केन्द्र धाएकी थिइन्।
पछिल्लो समय झापामा भएका केही विवादास्पद घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि एसपी खड्का आलोचनाको केन्द्रमा परेकी छन्।


