काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा खटिन लागेको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १३औं टोलीलाई मंगलबार बिदाइ गरेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आईजीपी पौडेलले टोलीलाई सफल कार्यसम्पादनको शुभकामना दिँदै नेपालको व्यावसायिक छवि र प्रतिष्ठा उच्च राख्ने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।
संयुक्त राष्ट्रसंघको अनुरोधमा युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) का रूपमा खटिन लागेको उक्त टोलीले शान्ति स्थापना, सुरक्षा प्रवर्द्धन तथा नागरिक संरक्षणसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछ।
बिदाइ कार्यक्रममा आईजीपी पौडेलले अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सुरक्षा निकायले हासिल गरेको विश्वसनीयता कायम राख्दै अनुशासित, निष्पक्ष र व्यावसायिक ढंगले कार्यसम्पादन गर्न टोलीलाई आग्रह गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा निरन्तर सहभागिता जनाउँदै आएको छ।
