काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), कोटेश्वरले राइड सेयरिङ एप InDrive को प्रयोग गरी लागुऔषध (ब्राउन सुगर/हेरोइन) कारोबार र डेलिभरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर, दुई थान डिजिटल तराजु, ११ थान मोबाइल फोन र नगद ५० हजार रुपैयाँ बरामद गरिएको ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रविधिको प्रयोग गर्दै लागुऔषध कारोबार गर्ने नयाँ शैली अपनाएको खुलेको छ।
उनका अनुसार भुनाको रूपमा लागुऔषध खरिद गर्ने व्यक्तिले InDrive मार्फत रकम पठाउने, त्यसपछि अर्को InDrive बुक गरी लागुऔषध डेलिभरी गर्ने गरिएको थियो। यसरी खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटबिनै कारोबार हुने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।
अनुसन्धानका क्रममा गोंगबु मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेर ब्राउन सुगर बिक्री–वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले साउन १४ गते छापा मारेको थियो। सो क्रममा ओखलढुंगा लिखु गाउँपालिका–७ का २४ वर्षीय हित बहादुर बस्नेत, सप्तरी राजगढ गाउँपालिका–७ का १९ वर्षीय रामकृष्ण शर्मा र धनुषाको जनकनन्दिनी गाउँपालिका–२ का २२ वर्षीय धनञ्जय पासवान पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेका हित बहादुर बस्नेत गेस्ट हाउसबाट ब्राउन सुगर बिक्री–वितरण गर्ने, रामकृष्ण शर्माले भक्तपुरबाट InDrive मार्फत लागुऔषध पठाउने र धनञ्जय पासवानले रामकृष्ण शर्माबाट ब्राउन सुगर खरिद गर्ने भूमिका खेलेका थिए।
एसपी रेग्मीका अनुसार पक्राउ परेकामध्ये हित बहादुर बस्नेत स्कुल बस चालक र धनञ्जय पासवान आईटी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी रहेको खुलेको छ। अनुसन्धानका क्रममा खरिदकर्ता र विक्रेताबीच पाँच पटकसम्म लागुऔषध किनबेच भए पनि उनीहरू प्रत्यक्ष रूपमा आमनेसामने नभएको तथ्य फेला परेको उनले बताए।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान गरिरहेको एसपी रेग्मीले जानकारी दिए।
