काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई प्रहरी उपरीक्षक (एसपी) को फुली लगाउने निर्णय गरेपछि महानगरभित्रै विवाद चर्किएको छ। साउन १९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार बुधबार बिहान ११ बजे दुवै अधिकृतलाई एसपीको फुली लगाउने कार्यक्रम तय गरिएको छ।
महानगरभित्र एक पक्षले आवश्यक योग्यता नपुगेका डीएसपीलाई एसपीसरहको फुली लगाउने निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको तर्क छ कि यस्तो निर्णयले बढुवा प्रणाली र संस्थागत प्रक्रियामाथि प्रश्न उठाउनेछ। अर्कोतर्फ, अर्को पक्षले भने शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई वरिष्ठताको आधारमा प्रचलित व्यवस्था र कार्यपालिकाको निर्णयअनुसार जिम्मेवारी तथा दर्जा प्रदान गरिएको दाबी गरेको छ।
डीएसपीलाई एसपीको फुली लगाउने निर्णयलाई लिएर कार्यपालिकाले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय गरेको आरोपसमेत उठ्न थालेको छ। यी विषयले काठमाडौं महानगरपालिकाभित्र प्रशासनिक तथा राजनीतिक विवाद थप चर्किने संकेत देखिएको छ।
