सर्लाही । सर्लाहीको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिउँसो सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरबाट खटिएको गस्ती टोलीले पर्सा गाउँपालिका–६ मा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखिया रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुलाउन नसकिएको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ।
बरामद नगद र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
