काठमाडौं । नेपाली सेनाका सहायक रथी (अप्रा) राजुप्रताप केसीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला रोगबाट पीडित रहेका केसी उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
केसीको जीवन व्यक्तिगत रूपमा पनि अत्यन्त पीडादायी रह्यो। विसं २०४२ सालमा काठमाडौंबाट दिपायल जाँदै गरेको सैनिक विमान दुर्घटनामा उनकी श्रीमती र सन्तानको मृत्यु भएपछि उनी गम्भीर पारिवारिक शोकमा परेका थिए।
त्यसअघि परिवार नियोजन गरिसकेका केसीले पछि दोस्रो विवाह गरे। त्यसपछि शल्यक्रियामार्फत परिवार नियोजन उल्टाएर पुनः सन्तान प्राप्त गरेका थिए।
काठमाडौंको कमलपोखरी निवासी केसी पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालका नाताले साला पर्थे।
सैनिक वृत्तमा केसीको बढुवासम्बन्धी विषय पनि एक समय चर्चामा रहेको थियो। उनीले नेशनल डिफेन्स कलेज (एनडीसी) तालिम नगरेको भए पनि तत्कालीन प्रधानसेनापति कटुवालले लेखा पक्षको दरबन्दीबाट उनलाई सहायक रथी (दुईतारे) दर्जामा बढुवा गराउन पहल गरेको चर्चा थियो।
तर तत्कालीन सरकारले उक्त बढुवामा सहमति नदिएपछि त्यो प्रयास सफल हुन सकेको थिएन। नेपाली सेनामा लामो समय सेवा गरेका केसीको निधनसँगै सैनिक वृत्तमा शोकको वातावरण छ।
