काठमाडौँ । सिन्धुलीको भिमानबाट स्कर्टिङ गर्दै काठमाडौंतर्फ ल्याइँदै गरेको खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रो र त्यसलाई स्कर्टिङ गरिरहेको मोटरसाइकललाई नियन्त्रणमा लिँदै तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेक कुमार साह रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरूले आलुको बोराभित्र लुकाएर खैरो हेरोइन माइक्रोबसमार्फत काठमाडौं पठाएका थिए भने दुई जना मोटरसाइकलमा माइक्रोलाई स्कर्टिङ गर्दै आएका थिए।
प्रहरीले माइक्रोमा सवार सन्देश यादवको साथबाट ४५ ग्राम १९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमानमा बुझाइएको ब्यूरोले जनाएको छ।
