विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दडाको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद कटवालसँग ९ बुँदे स्पष्टीकरण माग गरेको छ।
प्रदेश प्रहरी कार्यालयले पठाएको स्पष्टीकरणमा प्रहरी परिचालनको आधार, कानुनी प्रक्रिया, निर्णयको औचित्यदेखि उक्त कारबाहीबाट प्राप्त उपलब्धिसम्मका विषयमा विस्तृत जवाफ मागिएको छ।
स्पष्टीकरणमा सोधिएका ९ प्रश्न यस्ता छन्–
१. बेनी गोपाल मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय गोप्य सूचनाको आधारमा गर्नुभयो ? प्राप्त सूचनाको विश्वसनीयता परीक्षण कसरी, कसबाट र कुन अभिलेखका आधारमा गरिएको थियो ?
२. ठूलो संख्यामा प्रहरी परिचालन गर्नु अपरिहार्य हुने वस्तुगत कारण के थियो ?
३. प्रहरी परिचालन आदेश कसको स्वीकृतिमा, कुन समय र कुन अभिलेखका आधारमा जारी गरिएको थियो ?
४. खानतलासीका लागि आवश्यक कानुनी प्रक्रिया, स्वीकृति तथा लागू हुने कानुनी प्रावधानहरूको पालना कसरी गर्नुभयो ? खानतलासीअघि सबै कानुनी तथा कार्यविधिगत प्रक्रिया पूरा गरिएको थियो वा थिएन ?
५. उक्त कारबाहीबाट प्राप्त उपलब्धि, बरामद भएको वस्तु वा पक्राउसम्बन्धी विवरण के छ ?
६. यदि कुनै आपराधिक प्रमाण, बरामदी वा पक्राउ हुन सकेको थिएन भने यति ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो ?
७. उक्त घटनाबाट विराटनगरका उद्योगी, व्यापारी तथा सर्वसाधारणमा त्रास उत्पन्न भएको, प्रहरी सङ्गठनको व्यावसायिक छविमा असर परेको तथा सार्वजनिक विश्वासमा प्रतिकूल प्रभाव परेको भन्ने विषयमा तपाईंको धारणा के छ ?
८. तपाईंले सम्पन्न गरेको कार्यमा प्रहरी नियमावली, आन्तरिक कार्यविधि तथा व्यावसायिक आचारसंहिताको पूर्ण पालना भएको पुष्टि गर्ने आधारहरू के–के छन् ?
९. यस घटनामा तपाईंको व्यक्तिगत निर्णय, निर्देशन तथा जिम्मेवारीको सीमा स्पष्ट रूपमा खुलाएर पेस गर्नुहोस्।
प्रदेश प्रहरी कार्यालयले मागेको यो स्पष्टीकरणलाई एसपी कटवालको निर्णय प्रक्रिया, कानुनी आधार र व्यावसायिक जिम्मेवारीमाथिको औपचारिक परीक्षणका रूपमा हेरिएको छ। उक्त घटनापछि उद्योगी–व्यवसायीले प्रहरी कारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् भने प्रदेश प्रहरी नेतृत्वले घटनाबारे आन्तरिक छानबिन अघि बढाएको छ।
