दाङ । दाङको घोराही उपमहानगरपालिका–७, बेसाही नजिक रहेको करिब १० कट्ठा जग्गा कित्ताकाट गरिदिने भन्दै जग्गाधनीलाई झुक्याएर अन्य व्यक्तिको नाममा पास गरिएको पाइएको छ।
घटनापछि पीडित परिवारले वडा अध्यक्षका भाइसहित तीन जनाविरुद्ध जिल्ला अदालत दाङमा लिखत बदर तथा जालसाजी सम्बन्धी मुद्दा दर्ता गरेका छन्।
अदालतमा दायर गरिएको मुद्दाअनुसार घोराही–७ निवासी कौसिला दाहालको नाममा रहेको करिब १० कट्ठा जग्गा कित्ताकाटको प्रक्रिया मिलाइदिने भन्दै विश्वासमा पारेर विभिन्न कागजातमा हस्ताक्षर गराइएको र त्यसपछि जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिएको हो।
उजुरीमा घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिंह बुढा मगरका भाइ इश्वर बुढा, प्रकाश कुवर तथा लिला डाँगीको नाममा मालपोत कार्यालय दाङमार्फत उक्त जग्गा पास गरिएको उल्लेख छ।
पीडित पक्षले मालपोत कार्यालय दाङका केही कर्मचारी र जग्गा कारोबारमा संलग्न व्यक्तिबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
पीडित परिवारका अनुसार आफूहरूलाई कित्ताकाटको प्रक्रिया पूरा गराउने भन्दै कागजातमा हस्ताक्षर गराइएको थियो। पछि जग्गाको स्वामित्व नै अन्य व्यक्तिको नाममा गएको जानकारी पाएपछि आफूहरू गम्भीर आर्थिक तथा कानुनी समस्यामा परेको उनीहरूको भनाइ छ।
उनीहरूले विवादित लिखत बदर गरी जग्गाको स्वामित्व पुनः कायम गरिनुपर्ने माग गरेका छन्। घटनापछि यस विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा समेत छलफल भएको बताइए पनि समाचार तयार पार्दासम्म अनुसन्धानबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। अदालतमा मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
यस घटनाले मालपोत कार्यालयमार्फत हुने जग्गा कारोबारको पारदर्शिता, कागजात प्रमाणीकरण प्रक्रिया तथा सेवाग्राहीको सुरक्षामाथि समेत प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।
उनीहरूले यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
