जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका विभिन्न मुद्दाका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मानित धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेश गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये एक जना सवारी ज्यान मुद्दामा १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेका छन्। त्यस्तै बहुविवाह मुद्दाका दुई जना प्रतिवादीलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय रहेको प्रहरीले जनाएको छ।
यस्तै, चोरी मुद्दाका दुई जना फरार प्रतिवादीमध्ये एक जनालाई १ महिना कैद र १ लाख ६० हजार रुपैयाँ तथा अर्का एक जनालाई १ महिना कैद र १ लाख १३ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।
त्यसैगरी जालसाजी मुद्दाका दुई जना प्रतिवादीलाई जनही १२ हजार ५ सय रुपैयाँ जरिवाना सजाय रहेको तथा लागुऔषध मुद्दाका एक प्रतिवादीलाई १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ।
साथै अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिबारे सूचना भए नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीका आधिकारिक माध्यममा जानकारी गराउन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।
