काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा नपरी कसैको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन विशेष आग्रह गरेको छ।
कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनामा पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति (लेबर भिसा) मा काम गरेर फर्किने नेपालीलाई आर्थिक प्रलोभन देखाई सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामग्री नेपाल ल्याउन लगाउने प्रयास बढेको उल्लेख गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेले सामान्य आर्थिक प्रलोभनमा परेर अरूको सामान बोक्दा निर्दोष नागरिक नै कानुनी झमेलामा पर्ने अवस्था सिर्जना भइरहेको भन्दै यात्रुलाई अत्यन्त सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार अपरिचित व्यक्तिको सामान बोक्नु वा झोलाभित्र के छ भन्ने यकिन नगरी जिम्मा लिनु ठूलो कानुनी जोखिम हुन सक्छ।
प्रहरीका अनुसार यस्ता वस्तु बोकेर नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम जाँच हुने भएकाले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ।
सुरक्षा कार्यालयले यात्रुलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा नपर्न, झोला वा प्याकेटभित्रको सामग्री यकिन नगरी आफ्नो जिम्मामा नलिन, खरिद बिल वा कागजात भएको भन्दै कानुनी जिम्मेवारीबाट उन्मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्न तथा विमानस्थलमा कुनै शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
‘सचेत बनौं, सुरक्षित बनौं। दलालको प्रलोभनमा नपरौं, अवैध सुन ओसारपसारबाट टाढा रहौं,’ भन्ने सन्देशसहित एसएसपी रजौरेले सबै यात्रुलाई कानुनको पालना गर्दै सुरक्षित यात्रा गर्न अनुरोध गरेका छन्।

