विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायीको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासी विवादले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालमाथि नै प्रश्न उठाएको छ।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग लिखित स्पष्टीकरण माग्नुका साथै प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल आफैं उद्योगी–व्यवसायीसँग संवादमा उत्रिएका छन्।
प्रदेश प्रहरी कार्यालयले मंगलबार एसपी कटवाललाई २४ घण्टाभित्र नौबुँदे लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
स्पष्टीकरणमा प्रहरी परिचालन कुन सूचना र प्रमाणका आधारमा गरिएको थियो, त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो, माथिल्लो निकायको स्वीकृति लिइएको थियो वा थिएन, कानुनी प्रक्रिया पूरा गरिएको थियो कि थिएनलगायत विषयमा स्पष्ट जवाफ मागिएको छ।
यति मात्र होइन, उक्त कारबाहीबाट प्राप्त उपलब्धि, त्यसको नतिजा तथा उद्योगी–व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना भई प्रहरी संगठनको व्यावसायिक छविमा परेको असरबारे समेत स्पष्टीकरण दिन भनिएको छ। स्पष्टीकरणका यी प्रश्नहरूले नै एसपी कटवालको निर्णय प्रक्रिया र भूमिकामाथि प्रदेश नेतृत्वले गम्भीर रूपमा आन्तरिक समीक्षा थालेको संकेत गरेको प्रहरी वृत्तको बुझाइ छ।
यता, विवादका कारण निजी क्षेत्रमा बढेको असन्तुष्टि कम गर्न डीआईजी खनाल आफैं सक्रिय बनेका छन्। प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तरक्रियामा उनले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै औद्योगिक सुरक्षा, सुरक्षा चुनौती तथा प्रहरी–निजी क्षेत्रबीचको समन्वय र विश्वासलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
साउन १८ गते देवनरा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएपछि प्रहरी कारबाहीको शैलीलाई लिएर उद्योगी–व्यवसायीले तीव्र असन्तुष्टि जनाएका थिए।
पर्याप्त आधार र प्रक्रिया बिना शक्ति प्रदर्शन शैलीमा प्रहरी परिचालन गरिएको भन्दै निजी क्षेत्रले विरोध गरेपछि प्रदेश प्रहरी नेतृत्व एकातिर एसपी कटवालको भूमिकाको आन्तरिक समीक्षा गर्न र अर्कोतर्फ उद्योगी–व्यवसायीसँग बिग्रिएको सम्बन्ध सुधार्न एकसाथ सक्रिय भएको देखिएको छ।
