काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना भएका छन्।
थपलियाका छोरा सुरज थपलियाका अनुसार सोमबार राति भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा प्रारम्भिक उपचारपछि घर फर्किएका उनलाई मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि वीर अस्पताल लगिएको हो।
उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढेका कारण उनी हाल चिकित्सकको निगरानीमा उपचाररत छन्।
सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश सरकार गठनबारे छलफल गर्न प्रदेशका १७ जना सांसदलाई भक्तपुरको गुण्डुस्थित निजी निवासमा बोलाएका थिए। छलफलका क्रममा सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरणबारे कुराकानी भएको थियो।
स्रोतका अनुसार बैठकमा प्रदेश सरकार गठनका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै अध्यक्ष ओलीले थपलियाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
ओलीको रुखो व्यवहार र हप्कीदप्की सहन नसकेर नेता थपलिया बसेको ठाउँमै लड्न पुगेका थिए । थपलिया लडेर बेहोस भएपछि त्यहाँ रहेका एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जेसहितका नेताहरुले पानी छम्केर होसमा ल्याएका थिए ।
त्यसपछि उनलाई तत्काल मध्यपुर ठिमी अस्पताल लगिएको थियो।
स्रोतका अनुसार यसअघि अध्यक्ष ओलीले थपलियालाई नै बागमती प्रदेश संसदीय दलको नेता कायम रहने बताएका थिए। तर, सोमबारको बैठकमा उनले आफ्नो धारणा परिवर्तन गरेको चर्चा भएको थियो।
यस घटनाबारे एमाले नेतृत्वले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
