बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका आफ्नै सहयात्रीको हत्या गरी शव सिँचाइ नालामा फाल्ने मोटरसाइकल चालक पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए।
घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका आसारामलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेको तथा मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। त्यसपछि शव सिँचाइ नालामा फालेर उनी फरार भएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले आरोपी गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
