काठमाडौं । उद्योगी तथा व्यवसायी प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा तानिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पठाएको पत्रमा उक्त कारबाहीको वैधानिकता, निर्णय प्रक्रिया, कानुनी आधार तथा कार्यसम्पादनबारे गम्भीर प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण मागिएको हो।
पत्रमा प्रहरी संगठनको व्यावसायिकता, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता तथा जवाफदेहिताका मापदण्ड पूर्ण रूपमा पालना भएको नदेखिएको उल्लेख गरिएको छ।
प्रदेश प्रहरी कार्यालयले बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको आधार, गोप्य सूचनाको विश्वसनीयता परीक्षण, परिचालन आदेश कसको स्वीकृतिमा जारी भएको, खानतलासीका क्रममा अपनाइएका कानुनी प्रक्रिया, बरामद भएका सामग्री तथा कुनै प्रमाण फेला नपरेपछि पनि यति ठूलो कारबाही गर्नुको औचित्यलगायत विषयमा स्पष्ट जवाफ मागेको छ।
यदि तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा प्राप्त स्पष्टीकरण सन्तोषजनक नदेखिए प्रहरी ऐन, प्रहरी नियमावली तथा अन्य प्रचलित कानुनबमोजिम विभागीय कारबाही अघि बढाइने चेतावनीसमेत पत्रमा दिइएको छ।
गत सोमबार बिहान करिब ४ बजेदेखि प्रहरीले ‘विशेष सूचना’ को आधारमा भन्दै मुन्दडाको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा केही समयका लागि राजमार्ग र आसपासका सडकमा आवागमनसमेत प्रभावित भएको थियो। करिब साढे पाँच घण्टासम्म चलेको खोजतलासपछि प्रहरीले कुनै नगद, आपत्तिजनक कागजात वा अन्य सामग्री बरामद नगरी फर्किएको थियो।
घटनापछि प्रहरीको सूचनाको विश्वसनीयता, कारबाहीको औचित्य र अपनाइएको कार्यशैलीबारे व्यापक प्रश्न उठेका थिए। त्यसैको पृष्ठभूमिमा प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुखसँग औपचारिक स्पष्टीकरण मागेको हो।
पछिल्लो समय एसपी कटवालको कार्यशैलीबारे प्रहरी वृत्तभित्र र बाहिर मिश्रित प्रतिक्रिया देखिँदै आएको छ। समर्थकहरूले उहाँलाई आक्रामक रूपमा काम गर्ने अधिकृतका रूपमा चित्रण गर्ने गरेका छन् भने आलोचकहरूले पर्याप्त तयारी र कानुनी प्रक्रियाको सुनिश्चितताभन्दा प्रचारमुखी शैलीमा कारबाही गर्ने प्रवृत्तिले अनावश्यक विवाद निम्त्याएको टिप्पणी गर्ने गरेका छन्।
यद्यपि, यी टिप्पणीहरू सम्बन्धित पक्षहरूको धारणा हुन् र यसबारे आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।
