भारत । भारतको हरियाणा राज्यस्थित फरीदाबादको एक निजी विद्यालयमा सोमबार दिनदहाडै एक महिला शिक्षिकाको छुरा प्रहार गरी हत्या गरिएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीबाट केही मिटरको दूरीमा भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सिकरौना गाउँकी शिक्षिका सन्ध्या नियमितझैँ पढाउन विद्यालय पुगेकी थिइन्। केही समयपछि अनुहारमा कपडा बाँधेका एक युवक विद्यालयमा प्रवेश गरी उनलाई भेट्न माग गरेका थिए। सन्ध्या गेटतर्फ पुगेलगत्तै ती युवकले उनको घाँटीमा छुरा प्रहार गरेका थिए।
विद्यालयको सीसीटीभी फुटेजमा युवक केहीबेर विद्यालय परिसरमा पर्खिरहेको र सन्ध्या देखिएपछि उनलाई समातेर बाहिर घिसार्दै लगातार छुरा प्रहार गरेको देखिन्छ। फुटेजअनुसार ३२ सेकेन्डभित्र उनले ३४ पटक छुरा प्रहार गरेका थिए।
सन्ध्याको चिच्याहट सुनेर विद्यालयका प्रशासक र कर्मचारी घटनास्थल पुगे पनि छुरा बोकेका आक्रमणकारी उनीहरूतर्फ समेत जाइलागेपछि उनी घटनास्थलबाट फरार भएका थिए।
घटनापछि विद्यालयमा रहेका विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दामा त्रास फैलिएको छ। प्रहरीले हत्या मुद्दा दर्ता गरी सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा फरार अभियुक्तको पहिचान र खोजी तीव्र बनाएको जनाएको छ।
