काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले ट्राफिक प्रहरीलाई शिष्ट व्यवहार, आर्थिक पारदर्शिता र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत संगठनको छवि उकास्न निर्देशन दिएका छन्।
शनिबार उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा एआईजी राठौरले ट्राफिक प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको व्यवहारले सिंगो नेपाल प्रहरी संगठनको छवि निर्धारण गर्ने बताए।
उनले ‘ट्राफिक प्रहरीको छवि उच्च हुँदा सिंगो नेपाल प्रहरी संगठनकै प्रतिष्ठा र सान बढ्छ’ भन्दै इमान्दार, जिम्मेवार र सेवामुखी भएर काम गर्न सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिए।
एआईजी राठौरले ट्राफिक व्यवस्थापनमा प्रविधिको अधिकतम प्रयोग गर्न, आर्थिक अनुशासन कायम राख्न र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने उल्लेख गरे।
उनले विगतमा धेरै सवारीसाधनलाई कारबाही गर्नु नै उपलब्धिको मापन हुने गरेको भए पनि अहिले ट्राफिक प्रहरीको प्राथमिकता कारबाहीभन्दा दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सेवाको गुणस्तर सुधार रहेको स्पष्ट पारे।
उनका अनुसार ट्राफिक प्रहरीको उद्देश्य बढी कारबाही गर्नु नभई नियम पालना गराउँदै सुरक्षित र व्यवस्थित सडक वातावरण निर्माण गर्नु हो।
