काठमाडौं । नेपाली सेनाले राष्ट्रिय भलिबल टोलीका खेलाडी धनबहादुर भट्टलाई प्राविधिक सुबेदार पदमा पदोन्नति गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका भट्टको योगदानको कदर गर्दै सेनाले उक्त जिम्मेवारी दिएको हो।
पदोन्नतिपछि भट्टले सामाजिक सञ्जालमार्फत आफूलाई शुभकामना, माया, स्नेह र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा थप जिम्मेवारी, अनुशासन र समर्पणका साथ राष्ट्र र संस्थाको सेवामा लागिरहने प्रतिबद्धतासमेत जनाएका छन्।
नेपाली सेनाले खेलकुद क्षेत्रमा योगदान पुर्याउने खेलाडीलाई सम्मान र अवसर प्रदान गर्ने परम्परालाई निरन्तरता दिएको भन्दै खेलकुदकर्मीहरूले निर्णयको स्वागत गरेका छन्।
उनीहरूका अनुसार यस्ता सम्मानले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप हौसला मिल्नुका साथै भावी खेलाडीलाई पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिनेछ।
