काठमाडौं । अमेरिकाले बी–१/बी–२ (व्यापार तथा पर्यटक) भिजिटर भिसाका लागि धरौटी (भिसा बन्ड) कार्यक्रम स्थायी रूपमा लागू गर्ने भएको छ। नयाँ व्यवस्था सन् २०२६ अगस्ट ३ देखि लागू हुनेछ।
नियमअनुसार नेपालसहित ५० देशका निश्चित भिसा आवेदकले भिसा पाउन १० हजार, १५ हजार वा २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षण कार्यक्रमअन्तर्गत अधिकतम १५ हजार डलरसम्म धरौटी लिने व्यवस्था थियो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अधिकांश आवेदकका लागि १५ हजार डलर धरौटी तोकिनेछ। तर भ्रमणको उद्देश्य, रोजगारी, आम्दानी तथा अन्य जोखिम मूल्याङ्कनका आधारमा १० हजार वा २० हजार डलरसम्म धरौटी निर्धारण गर्न सकिनेछ।
भिसा अवधि समाप्त हुनुअघि अमेरिका छाड्ने, अनधिकृत रूपमा काम नगर्ने लगायत सबै भिसा सर्त पालना गरेमा धरौटी रकम ब्याजबिना फिर्ता गरिनेछ। तर भिसाका सर्त उल्लङ्घन गरेमा धरौटी जफत हुनेछ।
विदेश मन्त्रालयका अनुसार यो व्यवस्था उच्च ‘ओभरस्टे’ दर भएका तथा अध्यागमनसम्बन्धी जोखिम बढी भएका देशका नागरिकलाई लक्षित गर्दै लागू गरिएको हो।
