काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालभित्र चर्किएको नेतृत्व तहको शक्ति संघर्ष अन्ततः औपचारिक छानबिनसम्म पुगेको छ। अस्पताल प्रमुख डिआइजी डा. रूपक महर्जन र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मीना कुँवर जोशीबीच लामो समयदेखि जारी आन्तरिक खिचातानीकै बीच अस्पतालका आर्थिक तथा प्रशासनिक गतिविधिमाथि अनुसन्धान सुरु गरिएको हो।
स्रोतका अनुसार अस्पतालमा आर्थिक अनुशासन, सेवा सञ्चालन तथा प्रशासनिक प्रक्रियामा गम्भीर प्रश्न उठेपछि मानवस्रोत विभागले असार ३२ गते एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। समितिलाई अस्पतालको समग्र आर्थिक तथा प्रशासनिक गतिविधिको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
समितिले एक्सटेण्डेण्ट हेल्थ सर्भिस (ईएचएस), लेखा शाखा, सवारी व्यवस्थापन, इन्धन खर्च तथा अस्पतालका विभिन्न प्रशासनिक निर्णयसँग सम्बन्धित कागजात परीक्षण गरिरहेको स्रोतले जनाएको छ। समितिले सम्बन्धित कर्मचारीसँग लिखित बयान लिने, आर्थिक अभिलेख अध्ययन गर्ने तथा आवश्यक कागजात संकलन गर्ने कामसमेत सुरु गरिसकेको छ।
छानबिनको आधार बनेको उजुरीमा ईएचएस सञ्चालनलाई लिएर गम्भीर आरोप लगाइएको छ। सशस्त्र प्रहरी र आश्रित परिवारका लागि सञ्चालन हुनुपर्ने सेवामा बाहिरी सेवाग्राहीलाई प्राथमिकता दिइएको, नियमित कार्यालय समयमै ईएचएस सञ्चालन गरिएको, आम्दानी–खर्चको पारदर्शी अभिलेख नराखिएको तथा मासिक बैठकमा आय–व्यय र बचत विवरणसमेत प्रस्तुत नगरिएको आरोप छ।
उजुरीमा आफ्ना निकटस्थ व्यक्तिलाई जथाभावी टिकट वितरण गरिएको, आर्थिक कारोबारमा पारदर्शिता नअपनाइएको तथा संस्थागत निर्णयहरू प्रक्रियाविपरीत गरिएको दाबीसमेत गरिएको छ।
यस्तै, एम्बुलेन्स तथा अन्य सरकारी सवारीका लागि खरिद गरिएको डिजेल–पेट्रोलको वास्तविक विवरण नराखिएको, बढी बिल बनाएर रकम हिनामिना गरिएको, अन्य निकायका बिल मिलाएर खर्च देखाइएको तथा सवारी मर्मतका नाममा समेत अनियमितता भएको आरोप उजुरीमा समेटिएको छ।

स्रोतका अनुसार छानबिन सुरु भएपछि अस्पतालभित्रको गतिविधि थप तनावपूर्ण बनेको छ। अस्पतालका लेखा प्रमुख एसपी गणेश मल्ल असारमै भण्डार महाशाखामा सरुवा भए पनि हालसम्म नयाँ जिम्मेवारीमा हाजिर हुन सकेका छैनन्।
यही विषयमा हेलो सरकार र गृह मन्त्रालयमा समेत उजुरी पुगेको स्रोतको दाबी छ। मानवस्रोत विभागअन्तर्गतको कानुन महाशाखाले पनि समानान्तर रूपमा अनुसन्धान गरिरहेको बताइन्छ। कानुन महाशाखाका टोलीले अस्पताल पुगेर आवश्यक कागजात संकलन र सम्बन्धित अधिकारीसँग सोधपुछ गरिरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अस्पतालभित्र डिआइजी डा. रूपक महर्जन र एसएसपी मीना कुँवरबीच लामो समयदेखि समन्वय अभाव छ। यही कारण अस्पतालभित्र दुई समूह सक्रिय रहेको र त्यसको प्रभाव प्रशासनिक निर्णयदेखि दैनिक कार्यसम्पादनसम्म परेको दाबी स्रोतको छ।
डिआइजी महर्जन अस्पताललाई हालको एक सय शैयाबाट तीन सय शैयामा विस्तार गर्ने, थप दरबन्दी सिर्जना गर्ने तथा अस्पतालको संरचना विस्तार गर्ने योजनामा छन्। तर एसएसपी कुँवर पक्ष भने उक्त योजनाप्रति असन्तुष्ट रहेको र त्यसलाई रोक्न सक्रिय रहेको स्रोतको भनाइ छ। अस्पतालभित्रको यही शक्ति संघर्षबीच एकपछि अर्को उजुरी परेपछि आर्थिक तथा प्रशासनिक गतिविधि छानबिनको दायरामा पुगेका हुन्।
आगामी चैतमा डिआइजी महर्जनको पाँचवर्षे कार्यकाल सकिने भएकाले त्यसअघि आफ्नो योजना कार्यान्वयन गर्ने तयारीमा उनी रहेको स्रोतको दाबी छ।
यद्यपि, उजुरीमा लगाइएका आरोपबारे एपीएफ अस्पताल वा सशस्त्र प्रहरी बलले हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्। छानबिन प्रतिवेदनपछि मात्रै आरोपको यथार्थ सार्वजनिक हुने अपेक्षा गरिएको छ।
