काठमाडौं । जेलबाट फरार भएपछि पनि शृङ्खलाबद्ध आपराधिक गतिविधिमा संलग्न रहेका फरार अपराधी कर्मा तामाङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार तामाङ पक्राउ पर्नुअघि सिक्री स्न्याचिङ, मोटरसाइकल चोरीलगायत विभिन्न आपराधिक घटनामा संलग्न थिए। पछिल्लो पटक पनि उनले सिक्री लुटेको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनलाई खोजी गर्ने क्रममा हिजो राति काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा प्रहरी टोलीसँग जम्काभेट भएको थियो। पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी कारबाहीस्वरूप उनको खुट्टामा गोली प्रहार गरेको एसएसपी घिमिरेले जानकारी दिए।
घटनापछि उनलाई नियन्त्रणमा लिएर उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
