बारा । बाराको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा नाकामा तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडिओमा एक व्यक्तिले तस्करी सहज बनाउन भन्दै असई रानालाई एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। रकम ब्याजमा खोजेर दिएको उल्लेख गर्दै उनले पैसा फिर्ता नभए रुखमा बाँधेर कुट्ने चेतावनीसमेत दिएका छन्।
ती व्यक्तिले असई रानालाई कमिसनस्वरूप कपडासमेत उपलब्ध गराउँदै आएको दाबी गरेका छन्। उनका अनुसार मटिअर्वा नाकाको १० नम्बर पिलर क्षेत्र हुँदै विशेषगरी रातिको समयमा तस्करी हुने गरेको छ।
स्थानीय स्रोतका अनुसार मटिअर्वा, छतवा, मुसहर्वा, सिम्रौनगढ र पचरौता क्षेत्रका विभिन्न सीमावर्ती नाकाबाट लामो समयदेखि सुरक्षा निकायको मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्दै आएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी दिपेन्द्र थापाले विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताए। उनले रकम लेनदेन भएको पुष्टि भए दुवै पक्षलाई कानुनी प्रक्रियामा ल्याई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने बताए।
‘म आफैँ घटनाको छानबिन गरिरहेको छु। असई रानाले पैसा लिएको पुष्टि भए आवश्यक कारबाही हुन्छ,’ डीएसपी थापाको भनाइ छ।
उता आरोपित असई केशव रानाले भने आफूले कुनै तस्करसँग रकम नलिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा आफूमाथि लगाइएका आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्।
