रौतहट । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरीका एक अधिकारीलाई सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणपछि जिम्मेवारीबाट हटाइएको छ।
बीओपी सरमुजवाका इन्चार्ज इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीचको भनिएको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको सुरक्षा स्रोतले जनाएको छ।
लगत्तै प्रस्तावित भन्सार गुल्म गौरका प्रमुख डीएसपी प्रेमसागर बिष्टको पनि त्यहाँबाट सरुवा भएको छ। उनको स्थानमा सशस्त्र प्रहरी ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट डीएसपी दुर्गा प्रसाईं भट्टलाई खटाइएको छ।
यद्यपि उक्त अडियोको आधिकारिक प्रामाणिकता हालसम्म पुष्टि भएको छैन। त्यसैले फरेन्सिक परीक्षणसहित निष्पक्ष अनुसन्धानको माग स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उठिरहेको छ।
अडियो सार्वजनिक भएपछि छिन्नमस्ता बाहिनीका प्रवक्ता एसएसपी सुभाष भण्डारीको नेतृत्वमा गएको टोलीले बीओपी सरमुजवामा पुगेर स्थलगत निरीक्षण गरेको थियो।
टोलीले बौधीमाई नगरपालिकाका जनप्रतिनिधि, व्यापारी, युवा तथा स्थानीयवासीसँग इन्स्पेक्टर बोहराको कार्यशैलीबारे मौखिक र लिखित रायसमेत संकलन गरेको जनाएको छ।
स्थानीयले टोलीसमक्ष बोहराले घरायसी प्रयोजनका लागि भारतबाट ल्याइने सामानमा कडाइ गरे पनि आर्थिक प्रभावमा संगठित तस्करीलाई संरक्षण दिएको आरोप लगाएका छन्। उनीहरूको दाबीअनुसार त्यसबाट राज्यले लाखौं रुपैयाँ राजस्व गुमाएको छ भने सर्वसाधारण अनावश्यक रूपमा सास्ती खेप्न बाध्य भएका छन्।
स्थलगत अनुगमनका क्रममा एसएसपी भण्डारीले संगठन आचरणविपरीतका गतिविधिप्रति शून्य सहनशीलताको नीति अपनाइएको बताउँदै सार्वजनिक अडियो अनुसन्धानको एउटा आधार मात्र भएको र वास्तविकता विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुने बताएका छन्।
सुरक्षा स्रोतका अनुसार छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले तस्करी नियन्त्रणमा कडाइ गर्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति लिएका छन्। सोही नीतिअनुसार बोहरामाथिको अनुसन्धान अघि बढाइएको स्रोतको भनाइ छ।
स्थानीय व्यापारीका अनुसार बङ्कुल, रामपुरखाप र सरमुजवा लगायतका सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, कस्मेटिक तथा हार्डवेयर सामग्रीको अवैध ओसारपसार हुने गरेको थियो। प्रभावकारी निगरानी र जवाफदेहिताको अभावले संगठित तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको उनीहरूको भनाइ छ।
जिल्ला भन्सार कार्यालय गौरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरी नम्बर–११ गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको छ।
सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको तथ्यांक छ। यही तथ्यांकलाई आधार बनाएर केही स्थानीयले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ गण, प्रस्तावित भन्सार गुल्म गौर, चार वटा बोर्डर आउट पोस्ट (बीओपी) र आठ वटा सीमा सुरक्षा पोस्ट परिचालनमा छन्। यति ठूलो सुरक्षा संयन्त्र हुँदाहुँदै पनि तस्करी र राजस्व चुहावट पूर्ण रूपमा नियन्त्रण हुन नसकेको भन्दै सीमा सुरक्षा रणनीतिको प्रभावकारितामाथि पुनः बहस सुरु भएको छ।
यसअघि पनि सीमा क्षेत्रमा बढ्दो गुनासा र आचरणसम्बन्धी प्रश्न उठेपछि नेपाल प्रहरी प्रधान कार्यालयले असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्जसहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो।
सार्वजनिक भएको पछिल्लो अडियो प्रकरणले सीमा सुरक्षामा कार्यरत निकायको विश्वसनीयतामाथि थप प्रश्न खडा गरेको छ।
