काठमाडौं । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव एक सातासम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। देशका विभिन्न स्थानमा आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाले सुरक्षा संयन्त्रको अधिकांश ध्यान पूर्वी तराईतर्फ केन्द्रित भएको छ। यही कारण राज्यको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठ्न थालेका छन्।
बिग्रँदै गएको अवस्थाबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भिडियो सन्देशमार्फत सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने र कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका थिए।
यससँगै प्रहरी प्रधान कार्यालयले सुरक्षा संवेदनशीलता बढेको निष्कर्ष निकाल्दै चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित एसएसपीसम्मका १६ जना वरिष्ठ प्रहरी अधिकृतलाई विभिन्न प्रदेश तथा जिल्लामा फिल्डमै खटाएको छ। प्रहरीको यो निर्णयलाई सुरक्षा व्यवस्थापन सुदृढ बनाउन गरिएको प्रयासका रूपमा हेरिएको छ।
तर देशको ध्यान पूर्वी जिल्लाको सुरक्षा अवस्थातर्फ केन्द्रित भइरहेका बेला रुपन्देहीमा भने सीमावर्ती क्षेत्रमा चोरी–तस्करी बढेको भन्दै स्थानीय व्यवसायी तथा स्रोतहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भारतसँग सीमा जोडिएको मर्चवार क्षेत्रलगायतका नाकाबाट पछिल्लो समय अवैध सामानको ओसारपसार बढेको दाबी स्थानीय व्यवसायीहरूको छ। उनीहरूका अनुसार भारतबाट चिनी, गहुँ, कुखुरा, किराना तथा हार्डवेयर सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम बढेको छ भने नेपालबाट मदिरा, कपडा, केराउ, दाल तथा अन्य सामग्री भारततर्फ तस्करी भइरहेको छ।
स्थानीय व्यवसायीहरूले विगतमा समेत पत्रकार सम्मेलन गरी सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा प्रहरी प्रशासन प्रभावकारी हुन नसकेको भन्दै प्रश्न उठाएका थिए। अहिले पनि अवस्था सुधार नभएको उनीहरूको दाबी छ।
यसैबीच केही स्थानीय स्रोत तथा सुरक्षा निकट स्रोतहरूले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक शाहीकै संरक्षणमा अहिले मौका छोपी सीमाक्षेत्रमा तस्करी खुलेआम हुन थालेको छ। केही प्रहरी कर्मचारी र घुमुवा टोलीमार्फत सीमामा ‘लाइन’ सञ्चालन भएको आरोप छ।
प्रहरी महानिरीक्षक कार्कीले यसअघि नै अवैध चोरी–पैठारी र तस्करी नियन्त्रणमा कडाइ गर्न मातहतका कार्यालयलाई निर्देशन दिँदै आएका छन्। एसपी शाहीले पनि सार्वजनिक रूपमा तस्करी नियन्त्रणमा ‘जिरो टोलरेन्स’ नीति अपनाइने बताउँदै आएका छन्। तर, व्यवहारमा भने एसपी शाहीले घुमुवामार्फत तस्करीलाई निरन्तरता दिएका छन्।
रुपन्देहीको सीमाक्षेत्रमा तस्करी अझै रोकिएको अनुभूति हुन नसकेको स्थानीयको गुनासो छ। सुरक्षा संयन्त्र धार्मिक तथा साम्प्रदायिक तनाव व्यवस्थापनमा व्यस्त रहेका बेला सीमावर्ती जिल्लामा अवैध कारोबार बढ्न थालेको हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
यसैगरी एसपी शाहीले सिपाही, हवल्दारहरुलाई पटक पटक असभ्य भाषा समेत बोलेर गाली गर्ने गरेको गुनासो पनि छ।
रुपन्देही प्रहरीको भूमिकाप्रति गृह मन्त्रालयमा समेत उजुरी परेको बताइन्छ । यस विषयमा प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको छ।
